काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकी छिन् । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।
उनले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताइन् । “विभिन्न सन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क महँगो छ”, उनले भनिन्, “यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ ।”
भेटमा आफूले नेपालको भन्दा कम दर नभए पनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिन आग्रह गरेको बताए । “उहाँहरूले त्यो विषयलाई सकारात्मक लिनुभएको छ”, मन्त्री शर्माले भनिन् । भारतमा गएका नेपालीले मोबाइलको सीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उनले बताइन् ।
“भारतका सञ्चार राज्यमन्त्रीसँग द्विपक्षीय भेटवार्ता भयो, भेटमा हामीले ब्याण्डविथ अन्य नाकाबाट भित्रयाउन र अप्टिकल फाइबरको पहुँच समुद्रसम्म गरिदिन आग्रह गर्यौं”, उनले भनिन् । समुद्रसम्म अप्टिकल फाइबरको पहुँच स्थापित हुँदा नेपालमा इन्टरनेटको शुल्क कम हुने उनको भनाइ छ । अहिले भारतको सुनौली नाकाबाट मात्र ब्याण्डविथ भित्रिरहेको छ ।












