नेपाल तथा भारतमा अपराधिक गतिविधि गर्ने गिरोहका एक भारतीयसहित चारजना सिरहाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ बस्ने वर्ष ४५ का ईन्दल भन्ने इन्द्र नारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देव कुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल छन् ।
मंगलबार लहान नगरपालिका ७ लहान बजार स्थित विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनीहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु नेपाल र भारतमा लुटपाट, अपहरण, धम्काएर चन्दा असुल्ने जस्ता अपराधिक ‘डी’ ग्रुप चलाउने गरेका छन् । भारतीय प्रहरीले पनि सोही समूहका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।












