प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले इजरायलमा बंकरमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने जनाएको छ।
स्वकीय सचिव रमेश मल्लले बंकरमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग आफूहरू नियमित सम्पर्कमा रहेको बताउँदै इजरायली पक्षले तीन घन्टाभित्रै बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको जनाएका छन्।
‘हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको छ,’ मल्लले भने, ‘आज उद्धार गर्छौं भनेका छन्। नेपाली दूतावासले समन्वय गरिरहेको छ। हामी पनि बंकरमा रहेका विद्यार्थीसँग नियमित सम्पर्कमा छौं।’
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।












