Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

काजोल सेठिया : जनावरको प्रेमले बदलियो जीवनको धुन


काजोल सेठिया : जनावरको प्रेमले बदलियो जीवनको धुन

काठमाडौं । सडक-गल्लीमा भेटिने अबोध पशु–प्राणी देख्दा उनको मन स्नेहले पग्लिन्थ्यो । ती प्राणीलाई स्पर्श गर्थिन्, सुमसुम्याउँथिन्, खाना–पानी दिन्थिन् । यो सानो बेलाको कुरा हो ।

समय घर्कियो । उनी हुर्किंदै गइन् । यद्यपि पशु–प्राणीसँगको निश्छल घनिष्ठता उस्तै रह्यो । अन्ततः त्यही पशु–प्रेमले नै उनलाई गर्विलो चिनारी दिलायो ।

काजोल सेठिया । उमेर २८ वर्ष । फोर्ब्स म्यागाजिनले हालै मात्र काजोललाई सामाजिक प्रभाव विधा अन्तर्गत ‘दक्षिण एशियाका ३० वर्षमुनिका प्रभावशाली व्यक्ति’मा सूचीकृत गर्‍यो । जनावर हितका लागि निस्वार्थ जुटिरहेकी उदीयमान उद्यमी भनी उनलाई समेटिएको छ ।

काजोल काठमाडौंमा जन्मिइन् । बुवाआमा पशु–प्राणीलाई असाध्यै माया गर्थे । त्यसैको प्रभाव पर्‍यो उनको कलिलो मस्तिष्कमा ।

जसै उनी सडकमा पुग्थिन्, त्यहाँ बिजोग अवस्थाका पशु–प्राणी देख्थिन् । ती अबोध प्राणीहरू मान्छेबाट कुटिएका, लखेटिएका, सताइएका, घाइते बनाइएका हुन्थे । कसैको शरीरमा तातोपानी खन्याइएको, कसैको ढाड गाडीले कुल्चिएका, कसैको आँखा धारिलो तीरले घोचेका । रोग र भोकले व्याकुल भएका । अपहेलना र भयले सताइएका ।

‘मन नै रुन्थ्यो’ उनी सुनाउँछिन्, ‘तर उनीहरूलाई दिने मायाभन्दा मसँग अरू केही थिएन ।’

आफ्नो युगमा जन्म लिएका, आफूले सास फेर्ने वायुमण्डलमा सास फेरिरहेका पशु–प्राणी पनि यो धर्तीको अभिन्न हिस्सा हुन् । उनीहरूलाई माया र सम्मान गर्नुपर्छ । काजोललाई लाग्थ्यो, ‘किनभने हामी बाँचेको धर्ती उनीहरूको पनि हो ।’

माध्यमिक तहको पढाइ सिध्याएर एयरोस्पेस इन्जिनियरिङ पढ्नका लागि सन् २०१४ मा उनी सिंगापुर गइन् । पढाइको सिलसिलामा चार वर्ष सिंगापुर बस्दा उनले जे देखिन्, जे महसुस गरिन्, त्यसले उनको बाटै मोडियो ।

त्यो एउटा अप्रिय अनुभव, जसले उनलाई बदल्यो

सन् २०१५ को कुरा हो । सिंगापुर पुगेको वर्ष दिन हुँदै थियो । जाडो महिना । उनी बुट किन्न पसलमा पुगिन्, जुन ‘भिगन फ्रेन्ड्ली’ भनिएको थियो । भिगन एक संस्कृति र जीवन पद्धति हो, जहाँ चराचर जगतका पशु–प्राणीलाई माया गरिन्छ । माछा–मासु नखाने मात्र होइन, पशुजन्य कुनै पनि उत्पादन प्रयोग गरिंदैन ।

बुट किनेर घर फर्किइन् । उनलाई लागेको थियो, यो भिगन फ्रेन्ड्ली उत्पादन हो । तर, ६ महिनापछि थाहा भयो, त्यो त गाईको बाच्छाको छालाबाट बनेको रहेछ ।

पशुप्रति जसले सधैं श्रद्धा र सम्मान गरिरहे, उसैले बाच्छाका छालाबाट बनेको बुट लगाउँदाको मनोदशा कस्तो हुँदो हो ? काजोल नराम्ररी विथोलिइन् । माया र ग्लानिले उनको मन पोल्यो ।

‘माछा–मासु खाँदा मात्र होइन, उनीहरूलाई मारेर बनाइएको सरसामग्री प्रयोग गर्दा पनि त हिंसा हुन्छ’ उनलाई यही कुराले घोच्यो । आखिरमा उनले प्रण गरिन्, ‘अबदेखि यी अबोध प्राणीको हड्डी, छाला, दाँत आदिबाट बनेको कुनै पनि वस्तु प्रयोग गर्ने छैन ।’ उनी शाकाहारी त सानैदेखि थिइन्, अब भिगन भइन् ।

सिंगापुर रहँदा उनले पशु–प्राणीमाथि मान्छेले गर्ने क्रूरता देख्न र बुझ्न पाइन् । ‘त्यहाँ मैले  पशुपक्षीहरूमाथि मानिसले गर्ने हिंसा र ज्यादती देखें’ उनले भनिन्, ‘त्यसले जनावरप्रति अझ माया जगायो, उनीहरूको लागि केही गर्नुपर्छ भन्ने कुराको बोध गरायो ।’

पशुप्रेमले फर्कायो आफ्नो देश    

सिंगापुरमा चारवर्षे कोर्स सिध्याइन् । विख्यात अटोमोबाइल कम्पनी ‘रोल्स रोयस’ मा काम गर्न थालिन् । सबै कुरा ठीकठाक थियो । तर, उनको मन ठीकठाक थिएन । आफूलाई पुगिसरी भए पनि अबोध पशुप्राणीको भोक र पीडाले उनलाई बेचैन बनाइरह्यो ।

उनलाई विज्ञान–प्रविधिको भाषा भन्दा अबोध जनावरको भाषा बुझ्नु थियो । उनीहरूका लागि केही गर्नु थियो । उनीहरूमाथि हुने हिंसा र क्रूरता रोक्न यत्न गर्नु थियो ।

उता उनको विश्वविद्यालयले इञ्जिनियरिङसँगै उद्यमशीलतामा जोड दिन्थ्यो । जहाँ उनले उद्यमशीलताबारे धेरै कुरा सिक्न पाइन् । जागिर होइन, उद्यमशीलता गर्नुपर्छ भन्ने महसुस भयो र उनमा आत्मविश्वास पनि जागेको थियो । तर के गर्ने भन्ने कुरा स्पष्ट थिएन । यत्ति चाहिं बुझेकी थिइन्, जनावरकै क्षेत्रमा केही गर्नुपर्छ ।

सिंगापुरमै छँदा एकदिन उनलाई आइडिया फुर्‍यो – भेगन सम्बन्धी डेरी फुड र कपडाहरू बेच्ने ई–कमर्शबारे । अर्थात् जनावरलाई हानि नहुने गरी उत्पादन गरिएका डेरी फुड र कपडाहरू अनलाइन प्लेटफर्मबाट बेच्ने । भारतमा उनले यसको बजार राम्रै देखेकी थिइन् । ‘भेगन सम्बन्धी डेरी प्रोडक्टदेखि कपडाहरू बेच्न एउटा स्टार्ट अप सुरु गरें’ उनले भनिन्, ‘भेगनहरूका लागि केन्द्रित भएकाले मार्केट राम्रो लियो ।’

व्यवसाय ठिकठाक चल्दैथियो । त्यहीबीच उनी घर फर्किन्, परिवारसँग समय बिताउने सोचले । उनी सिंगापुरमा पढे पनि आफ्नै देशमा केही गर्न चाहन्थिन् । तर नेपाल फर्केर के गर्ने भन्नेबारे उनीसँग ठोस योजना थिएन ।

घर फर्केपछि उनलाई नेपालमै पनि भेगन सम्बन्धी केही गर्न सकिन्छ कि भन्ने लाग्यो । जुन उनले भारतमै छँदा थालेकी थिइन् । ‘नेपालमा पनि भेगन सम्बन्धी डेरी फुडको व्यवसाय गरौं भन्ने सोच बन्योे’ उनले भनिन् । तर यहाँ समस्या चाहिं बजारको थियो । किनभने नेपालमा भारत जस्तो बजार थिएन ।

भिगन डेरी नेपाल : एक सदीक्षा, एक सुरुवात

सन् २०१८ मै उनले सुरु गरिन्– ‘भिगन डेरी नेपाल ।’ सुरुवात उनले आमासँग मिलेर घरबाटै थालिन् ।

‘दुवै जना मिलेर घरमै भेगनका डेरी प्रोडक्ट बनाएर सुरु गर्‍यौं ’ उनले भनिन्, ‘सुरुवात हामीले घरबाटै गरेका थियौं ।’ घरमा तयार गरेको डेरी प्रोडक्टहरू उनी चिनेका साथी, आफन्तको माझ पुर्‍याउन थालिन् । त्यहीबीच उनी भेगन सम्बन्धी अभियानमा पनि जोडिएकी थिइन् । त्यसले पनि केही मद्दत गर्‍यो ।

‘नेपालमा भेगनको संख्या नै सानो थियो’ उनले भनिन्, ‘त्यसमा पनि यसबारे धेरैलाई थाहा नै थिएन ।’ सुरुका वर्ष निकै अप्ठ्यारा भए । एक त भेगनको संख्या नै थोरै, त्यसमा पनि भेगन सम्बन्धी खाद्य वस्तु प्रयोग गर्ने कति नै पो थिए र !

उनका जनावरहरूको हितमा एड्भोकेट गर्ने साथीहरू थिए, उनीहरूले पनि सघाए । उनै सञ्जाल र साथीहरूबाट प्रोडक्ट लोकल मार्केट र विदेशीहरू माझ पुग्न थाल्यो । जब दुई-चार प्रोडक्ट जान थाल्यो, तब उनले भेगनको मार्केट रहेछ भन्ने कुरा बुझिन् ।

त्यसपछि उनी यसैमा लागिपरिन् । घरमा बनाएका डेरी प्रोडक्ट बटर, दूध, चिजहरू तयार गर्थिन् र बजार पठाउँथिन् । त्यहीबीच अचानक कोभिड संक्रमण आइदियो ।

२०७६ सालमा फैलँदो कोभिड संक्रमणले सबै व्यापार व्यवसाय ठप्प भए । लकडाउनले मानिसहरू घरमै थुनिए । जसै कोभिड संक्रमण कम हुँदैगयो, जीवन सामान्य बन्दैगयो । मानिसहरू आफ्नै दैनिकीमा फर्कंन थाले ।

कोभिड संक्रमणले व्यापार व्यवसायमा धेरै क्षति पुग्यो । तर काजोललाई भने एउटा फाइदा भयो । भनिन्छ, संकटले सम्भावनाको ढोका पनि खोल्छ । कोभिड संक्रमण पछि मानिसहरू स्वास्थ्य प्रति थप सजग भए । ‘लकडाउनले मानिसलाई स्वास्थ्यप्रति संवेदनशील बनाउन मद्दत ग¥यो’ उनले भनिन्, ‘यसले उनीहरू खानपिनमा ध्यान दिन थाले ।’ अझ बजारबाट ल्याएर सीधै माछामासु खाने कुरामा हच्किए । बदलामा उनलाई मानिसहरूलाई भेगन डेरी प्रोडक्ट र फुड सप्लिमेन्टबारे बुझाउन सजिलो भयो ।

उनले डेरी प्रोडक्टसँगै भेगन फुड सप्लिमेन्टमा पनि जोड दिन थालिन् । यसलाई बजारमा लिएर जान थालिन् । विस्तारै क्याफे, स्टोरहरूमा यसलाई पु¥याइन् । त्यसपछि त क्रमशः एकपछि अर्काे गर्दै डिमाण्ड बढ्दै गयो । ‘स्वास्थ्य प्रति सचेत मान्छेहरू अझ बढी प्रोडक्ट मन पराउन थाले’ उनले भनिन्, ‘क्रमैसँग सेल्स उक्लिन थाल्यो ।’

‘भेगन डेरी नेपाल’ सुरुवात भएको ६ वर्ष पुगेको छ । यो अन्तरालमा ‘भेगन डेरी नेपाल’ ब्राण्ड भइसकेको छ । कम्पनीले अहिले भेगनका लागि डेरी फुडहरू दूध, नन बटर, चिज, एनर्जीबार लगायतका सबै फुड सप्लिमेन्टहरू नेपालमै उत्पादन गर्छ भने केही चाहिं भारतबाटै कम्पनीको नाममा प्याकेजिङ भएर आउँछ । ट्रेटा प्याक मिल्क, फ्रेस मिल्क बजारमा पुर्‍याउँदै आएको छ । ‘३० प्रतिशत यहाँ बन्छ’ उनी भन्छिन्, ‘७० प्रतिशत भने इन्डियाबाटै प्याकेजिङ भएर आउँछ ।’

भेगन डेरी नेपालले भेगन सम्बन्धी डेरी र फुड सप्लिमेन्टहरू नेपाली बजारमा पुर्‍याउँछ । खासगरी हिमालयन जाभा, सेल्स बेरी लगायत मार्केटहरूमा उपलब्ध छन् । विशेषगरी उपत्यका र पोखरा; चितवन, बुटवल जस्ता प्रमुख शहरमा पनि पाइन्छन् ।

अहिले भेगनहरूका लागि मात्रै हैन, स्वस्थ जीवन चाहनेहरूका लागि पनि भेगन डेरी नेपाललाई रुचाउँछन् । यसलाई अझै आम मानिसहरू माझ पुर्‍याउन चाहन्छिन्, काजोल । ‘अहिले हाम्रा प्रोडक्टहरू केही महँगा भएर सबैले एफोर्ट गर्न सक्ने अवस्था छैन । हामी यसलाई क्रमशः मूल्य कम गर्दै जाने योजनामा छौं ।’ र, मुख्यतः भेगनहरूको मन जितेको छ ।

व्यवसाय मात्र होइन, भेगन डेरी नेपाल

भेगन डेरी नेपाल झट्ट हेर्दा व्यवसाय देखिन्छ । तर काजोलको लागि यो व्यवसाय मात्र होइन । भेगन डेरी नेपालको उद्देश्य हो, मानिसलाई जनावरको मासुप्रतिको निर्भरता घटाउँदै लैजाने । ‘मानिसहरूलाई जनावरप्रतिको निर्भरता घटाएर, अप्रत्यक्ष रूपमा भए पनि जनावरमाथि हुने हिंसा कम गर्दै लैजाने अभियान हो’ उनले भनिन्, ‘भेगन डेरी नेपालले मानिसलाई माछामासुको विकल्प दिन्छ र भेगन हुन प्रेरित गर्छ ।’

उनले बुझेको कुरा के हो भने जनावरमाथि हुने हिंसा एकैचोटि रोकिंदैन । पशु–प्राणीको मासु खानुहुँदैन भन्ने कुरा बुझाएर मात्र हुँदैन । त्यसका लागि मानिसहरूलाई सिफ्ट हुन विकल्प दिनुपर्छ । ‘एकैचोटि माछामासु खानुहुँदैन भनेर एड्भोकेट गरेर मात्र नपुग्दो रहेछ’ उनले भनिन्, ‘मानिसहरूलाई भेज वा भेगनमा सिफ्ट हुन अप्सन दियौं भने मात्र सजिलो हुन्छ ।’ अहिले उनी भेगन नेपाल डेरी मार्फत यही गर्न खोजिरहेकी छन् ।

उनी नेपाल आएर यस क्षेत्रमा लाग्नुको कारण पनि त थियो । भन्छिन्, ‘जनावरको मायाले नै मलाई यहाँसम्म डोहोर्‍यायो ।’

‘पशु–प्राणीमाथिको हिंसाले आघात बनाउँछ’

उनी पशु–प्राणीमाथिको हिंसा देख्न, सुन्न सक्दिनन् । केही समय अघिको कुरा हो । उनको एक जना स्टाफले कुकुरमाथि निर्मम धारिलो हतियारले प्रहार गरेको भिडियो देखाइन् । भिडियोमा मानिसहरूले कुकुरमाथि धारिलो हतियार बर्साएका थिए । त्यो देखेपछि उनको मुटुले ठाउँ छोड्यो । हात काँपे । हातमा भएको मोबाइल भुइँमा खस्यो ।

त्यसअघि उनले कुकुरको टाउको माथि ढुंगा बर्साएका दृश्य पनि देखेकी थिइन् । निर्घात कुटेर घाइते बनाइएका घटनाहरू पनि सुनिरहेकी, देखिरहेकी हुन्थिन् ।

सोच्छिन्, ‘मानिस यति क्रूर कसरी हुनसकेको होला ?’ मानिसहरू किन उनीहरूको भावना बुझ्दैनन् ?’

निर्दाेष पशु–प्राणीमाथि भएका यस्ता घटनाले उनको मन कुँडिन्छ । उनी विक्षिप्त हुन्छिन् । उनीहरूमाथि हुने घटना कहिले रोकिएला भन्दै सोचिबस्छिन् ।

तर यी कुराहरू एकैचोटि अन्त्य हुने होइनन् । सोचाइ बदलिन समय लाग्छ । ढिलोचाँडो मानिसमा जनावरलाई माया गर्नुपर्छ भन्ने चेतना आउनेछ । जुन अहिले भई पनि रहेको छ । मानिसहरू जनावरप्रति केही उदार बन्दै गएको उनको बुझाइ छ । जनावरमाथि हिंसा गर्नुहुँदैन भन्ने चेतना बढेको उनी सुनाउँछिन् । ‘पशुपक्षीहरूमाथि काटमार गर्नुहुन्न, हिंसा गर्नुहुन्न भन्ने कुरामा पछिल्लो पुस्ता अझै सचेत भएको जस्तो देख्छु’ उनले भनिन्, ‘पशुपक्षीमाथि काटमार गर्नुहुन्न भन्ने चेतना बढेको छ ।’

उनलाई विश्वास छ, ‘ढिलोचाँडो, यो फेरिनेछ ।’

….

अहिले उनी भिगन भएकै दश वर्ष पुग्यो । उनी जनावरबाट बनेका सामग्रीहरू मात्र हैन, चिडियाखाना समेत जान्नन् । आज पनि सडकमा भेटिएका पशुप्राणीलाई उद्धार गरिरहेकी हुन्छिन् । कहिले सडकमा रहेका भोका कुकुरहरूलाई खाना खुवाउँछिन् । कहिले घाइते भएर बिरामी भएका पशुप्राणीलाई पनि उद्धार गर्छिन् । सडकमा बेवारिसे भेटिएका कति कुकुरलाई उनी घरमै पनि लैजान्छिन् । अहिले उनीसँग ४ वटा कुकुर घरमै छन् । ‘हरेक साँझ म आफ्नो स्टाफसँग खाना खुवाइरहेकी हुन्छु’, उनी भन्छिन् ।

‘दुर्गम गाउँ हिंडेपछि समाचार आयो’

जेठ ३ गते विश्वप्रख्यात म्यागाजिन फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचीमा परिन्, काजोल । जसै प्रभावशाली व्यक्तिमा परेको खबर आयो, देशमा हल्लाखल्ला भयो । तर संयोग कस्तो भयो भने त्यसै दिन उनी काठमाडौंबाट लुक्ला लागेकी थिइन्, कामको सिलसिलामा । ‘प्लेनमा चढेपछि मात्र समाचार सुनें’, उनले भनिन् ।

उनी हिमाली गाउँहरूमा पुग्दा फोब्र्सको प्रभावशाली सूचीमा परेको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिसकेको थियो । उनका शुभचिन्तक, साथी, उनलाई चिन्नेहरूको बधाईको ओइरो नै लाग्यो । तर उनी त फोन समेत नलाग्ने ठाउँमा जो पुगेकी थिइन् !

कति बधाई त उनले बाटोमै थापिन् । धेरै चाहिं फोन नलाग्ने भएर मिस गरिन् । ‘कतिपय ठाउँमा फोन र नेट चल्ने अवस्था थिएन’, उनले भनिन् ।  जेठ ९ गते मात्रै उनी काठमाडौं फर्किइन् ।

फोब्र्सको प्रभावशाली व्यक्तिमा परेसँगै उनमा छुट्टै ऊर्जा थपिएको छ । उनलाई चिन्ने मात्रै हैन, नचिनेकाहरूले पनि उनको कामबारे थाहा पाए ।

‘यो कुराले मलाई अझै काम गर्न प्रेरणा दिएको छ’ उनले भनिन्, ‘आफूले गरेको काममै दत्तचित्त भएर लाग्न प्रोत्साहन गरेको छ ।’

आज भेगन डेरी नेपाल जुन ठाउँमा छ, उनी ठाउँमा पुगेकी छन् त्यसको लागि उनी आफ्नो परिवारप्रति कृतज्ञ छिन् । भन्छिन्, ‘मेरो प्यासन जनावरमै थियो । परिवारले मलाई बुझ्नुभयो, सपोर्ट गर्नुभयो । यो सबै कुरा उहाँहरूको मायाबाटै सम्भव भएको हो ।’

फोटो– चन्द्र आले

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

सोनाक्षी सिन्हाले गरिन् प्रेमी जहीर इकबालसँग विवाह

सोनाक्षी सिन्हाले गरिन् प्रेमी जहीर इकबालसँग विवाह

सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्

सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्

Leave a ReplyCancel reply

लोकप्रिय

Prime Minister Sushila Karki Assures Elections Will Be Held in Two Phases If Weather Impedes Himalayan Districts

Prime Minister Sushila Karki Assures Elections Will Be Held in Two Phases If Weather Impedes Himalayan Districts

Ravi Lamichhane Ready for ‘Revolution’ to Change Nepal’s Future

Ravi Lamichhane Ready for ‘Revolution’ to Change Nepal’s Future

Dalai Lama Wins First Grammy Award for Best Audiobook at 68th Grammy Awards

Dalai Lama Wins First Grammy Award for Best Audiobook at 68th Grammy Awards

Trump Demands $1 Billion in Compensation from Harvard Amid Ongoing Dispute

Trump Demands $1 Billion in Compensation from Harvard Amid Ongoing Dispute

Norwegian Prince’s Son, Marius Borg Hoiby, Arrested on New Charges Days Before Rape Trial

Norwegian Prince’s Son, Marius Borg Hoiby, Arrested on New Charges Days Before Rape Trial

UK MP Tulip Siddiq Sentenced to 4 Years in Jail in Bangladesh Corruption Case

UK MP Tulip Siddiq Sentenced to 4 Years in Jail in Bangladesh Corruption Case

Former Bangladesh Prime Minister Sheikh Hasina Sentenced to 10 Years in Jail Over Land Scam

Former Bangladesh Prime Minister Sheikh Hasina Sentenced to 10 Years in Jail Over Land Scam

World Bank Approves $95 Million Project to Promote Sustainable and Inclusive Financial System in Nepal

World Bank Approves $95 Million Project to Promote Sustainable and Inclusive Financial System in Nepal

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d