जनकपुरधाम,। मधेश प्रदेशका आठवटै जिल्लामा बाढी, डुबान, चट्याङ र आगलागीजस्ता प्राकृतिक विपद्का जोखिम न्यूनिकरणका लागि सशस्त्र प्रहरी बल, नेपालले समुदायलाई लक्षित गर्दै स्वयंसेवक तयार पार्ने अभियान सुरु गरेको छ।
हरेक वर्ष मनसुनसँगै विपद्ले मधेशमा ठूलो असर पार्ने भएकाले यस क्षेत्रलाई जोखिमपूर्ण मानिँदै आएको छ। यही पृष्ठभूमिमा सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा जिल्लास्तरमा विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न तालिम कार्यक्रम अगाडि बढाएको हो।
डीआईजी ढकालका अनुसार हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, र सर्लाही, धनुषा तथा सप्तरीमा २५–२५ जना गरी कुल १३९ जनालाई २१ दिने प्रारम्भिक तालिम दिइसकिएको छ। बाँकी रहेका बारा, पर्सा र सिराहा जिल्लामा पनि यही वर्षभित्र थप २५–२५ जना स्वयंसेवकलाई तालिम दिने तयारी भइरहेको छ।
प्रकोपको पहिलो सामना गर्ने सामर्थ्य स्थानियहरूसँगै हुन्छ। जब त्यहीँ समुदायलाई सचेत र सक्षम बनाइन्छ, तब मात्र क्षतिको जोखिम घटाउन सकिन्छ,’ढकालले भने ‘हामी मानवीय क्षति शून्य बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौं, जसमा समुदाय र सुरक्षाकर्मीको सहकार्य अपरिहार्य छ।’
स्थानीय तह र सशस्त्र प्रहरीको समन्वयमा सञ्चालित यो तालिमले उद्धार, प्राथमिक उपचार, सूचना प्रवाह र जनचेतनामूलक काममा भूमिका खेल्ने जनशक्ति तयार गर्ने लक्ष्य राखिएको छ।
यही अभियानअन्तर्गत प्रत्येक पालिकाका वडामा सम्भावित प्रकोपको पूर्वसूचना दिन सक्ने गरी कम्तीमा २५–२५ जना विपद् सूचक समेत चयन भइसकेका छन् । ती सूचकहरूको सम्पर्क विवरण संकलन गरिएकै आधारमा आवश्यक समन्वयमा कार्य अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस अभियानमार्फत मधेश प्रदेशमा समुदायस्तरमै दिगो विपद् प्रतिकार्य प्रणालीको आधार निर्माण हुने अपेक्षा गरिएको छ।