काठमाडौं । नेकपा एमालेबाट गोदावरी नगरपालिकाको वडाध्यक्ष निर्वाचित भएका प्रभावशाली नेता बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् ।
एमाले उम्मेदवार नवराज सिलवाल र प्रदेश क उम्मेदवार मधुसुदन पौडेलको चुनावी कमाण्डरका रुपमा रहेका यस क्षेत्रका प्रभावशाली नेता घिमिरे चुनावको मुखैमा कांग्रेस प्रवेश गरेपछि उम्मेदवारलाई संकट आइलागेको छ । घिमिरे २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर ३ मा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
२०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु बिर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताए । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् ।
२ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै सङ्घीय सांसदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्सेर राणाले पार्टीले ठूलो जिम्मेवारी दिने प्रतिबद्धता जनाए । घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा सक्रिय भएको पनि बताएका छन् ।












