काठमाडौं । नेपालको इतिहासमा ०४८ पछिका अधिकांश चुनाव नेपाली कांग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन् । एक दुई पटकबाहेक चुनाव गराउँदा सबैभन्दा क्षति कांग्रेसले नै व्यहोरेको छ । तर लोकतन्त्रलाई सबल, सुदृढ बनाउने चुनाव नै हो । लोकतन्त्र सुदृढ हुनु भनेको देश बलियो हुनु हो । देशको मुल कानुन संविधान बलियो हुनु हो । व्यवस्था बलियो हुनु हो । कांग्रेसको चरित्र नै छ कि व्यवस्था बलियो बनाउन आफू बलिदानी दिन तयार हुने ।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालामा ०६४ सालदेखि ०७९ सम्म आइपुग्दा कांग्रेसले देश र संविधान जोगाउन, प्राप्त परिवर्तन, उपलब्धी जोगाउन योगदान गर्दै आएको छ । ०६४ सालको चुनावमा नेपाली कांग्रेस हार्ने तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाबाबुलाई थाहा नभएको होइन । हार्ने भएकाले चुनाव सार्न प्रस्ताव नअएको होइन । तर उनले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर आफू हार्ने भए पनि चुनाव गराए । पार्टी हार्यो तर देशमा शान्तिपूर्ण वातावरण बन्यो । गणतान्त्रिक संविधान प्राप्त भयो । यदि गिरिजाले आफ्नो पार्टीको स्वार्थ हेरेको भए देश दलदलमै फसिरहेके हुन्थ्यो ।
यो सिलसिला ०७० मा सुशील कोइरालाले चुनाव गराउँदा र ०७४ मा शेरबहादुर देउवाले चुनाव गराउँदा पनि कायम रह्यो । देउवाको पालामा त कम्युनिस्टहरु मिलेर कांग्रेसलाई एकदमै सीमित सिटमा खुम्चयाए । तर सभापति देउवाले पार्टी हारे पनि देश नहारोस्, सिस्टम बलियो भनेर समयमै आवधिक चुनाव गरे । अहिले ०७९ मा पनि देउवा सरकारले नै चुनाव गराएको छ । धेरै मन्त्रीहरु हारेका छन् । गृहमन्त्री बालकृष्ण खाण नै पराजित भएका छन् । उनसँग कुन क्षेत्रमा को जित्दैछ भन्ने सुरक्षा निकायको विभिन्न विश्वस्त रिपोर्ट थियो ।
उक्त रिपोर्टमा एमाले राप्रपाको गठबन्धनका कारण आफू रुपन्देहीमा पराजित हुनसक्छु भन्ने पनि थाहा थियो । तर संविधानलाई संस्थागत गर्ने, लोकतन्त्र सुदृढिकरण गर्ने आवधिक निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएका गृहमन्त्री खाणले आफू हारेर पनि पूरा गरे । उनले देश संविधान व्यवस्थाका लागि आफूलाई पराजयको मुख धकेलेर सहर्ष स्वीकार गरे । गृहमन्त्री खाणले कही पनि चुनावमा धाधली हुन दिएनन् । आफै हारे तर चुनाव सम्पन्न गराएर नेपाली जनताप्रतिको दायित्व निर्वाह गरे ।
सभापति देउवाले आफ्ना विश्वासपात्र, कांग्रेसका ठूला नेता पराजित हुने अवस्था भए पनि चुनाव गराएर त्यसलाई त्यागका रुपमा सहर्ष स्विकार गरे । चुनावको शान्ति सुरक्षा प्रबन्धमा सक्रिय गृहमन्त्री खाणले हारलाई त्यागको रुपमा स्विकार्ने मानसिकतासहित रातदिन सुरक्षाकर्मी र स्थानीय प्रशासनको हौसला बढाउने कार्यमा सक्रिय भइरहेका छन् । खाणको त्यागले कांग्रेसभित्र सकारात्मक उर्जा ल्याएको छ । नेता कार्यकर्ताले उच्च प्रशंसा गरेका छन् ।












